सन्दिप लामिछाने र सुनम गौतम लंका प्रिमियर लिगको ड्राफ्टमा
खेलाडीहरुको ड्राफ्टको सूचीमा श्रीलंका बाहिरका २ सय ७१ जना खेलाडीहरु रहेका छन्। यस्तै श्रीलंकाका कुल १६५ खेलाडीहरु गरि कुल ४३६ जना खेलाडीहरु ड्राफ्टमा सूचिकृत छन्। १२ टेस्ट राष्ट्र बाहेक ड्राफ्टमा नेपालका सहित, क्यानडा, स्कटल्याण्ड, हंगकंग, नेदरल्याण्ड, ओमानका खेलाडीहरु पनि रहेका छन्।
भारतका समेत ९ जना खेलाडीहरु ड्राफ्टमा छन्। ड्राफ्टको ३० औं नम्बरमा सुनम गौतम रहेका छन् भने १०३ औं नम्बरमा सन्दिप लामिछाने रहेका छन्। खेलाडीहरुलाई क्लासिक, डायमण्ड, गोल्ड, इमर्जिंग र आइकन गरि वर्गीकरण गरिएको छ जसको मूल्य १५ हजार डलर देखि ६० हजार डलरसम्म रहेको छ।
सन्दिप ‘डायमण्ड’ श्रेणीमा रहेका छन् जसको मूल्य ५० हजार देखि ५९,९९९ डलर रहेको छ। यो श्रेणीमा सन्दिपसंगै बंगलादेशका मुस्फिक्कुर रहिम, इंग्ल्यान्डका रभी बोपारा, पाकिस्तानका मोहम्मद हफिज र शोयब मलिक, वेस्टइन्डिजका डेरेन सामी, इंग्ल्यान्डका लुक राइट जस्ता खेलाडीहरु रहेका छन्।
यस्तै सुनम गौतम ‘क्लासिक’ श्रेणीमा रहेका छन् जसको मूल्य १५ हजार देखि २४,९९९ डलर रहेको छ। यो सूचीमा अफगानिस्तानका नजिबुल्लाह जद्रान, गुल्बदीन नैब, अस्घर अफ्घान, स्कटल्याण्डका कायल कोट्जर, हंगकंगका बाबर हयात, एजाज खान, भारतका प्रभिन ताम्बे, प्रज्ञान ओझा र मनप्रित गोनी, जिम्बाब्वेका सिङ विलियम्स र क्रेग इर्भिन जस्ता खेलाडीहरु रहेका छन्।

सहभागी ५ टिमले ड्राफ्टबाट ६ जना श्रीलंका बाहिरका खेलाडीहरु लिन पाउनेछन्। पहिलो पटक विदेशी टि-२० लिगको ड्राफ्टमा स्थान बनाएका सुनम गौतमले विकेटनेपालसंग कुरा गर्दै उत्साह व्यक्त गरेका छन्। उनि एजेन्टमार्फत ड्राफ्टमा नामांकित भएका गौतमको सन्दिप लामिछानेसंगै एकै टिममा खेले चाहना रहेको छ।
सन्दिप विदेशी टि-२० लिगमा छनौट हुने कुरा नौलो छैन तर पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका गौतमलाई टिमहरुले कतिको महत्व दिनेछन् हेर्नलायक हुनेछ। यस अघि सन्दिप बाहेक विदेशी लिगहरुमा सोमपाल कामि र पारस खड्काले मात्र मौका पाएका छन्। सोमपाल गत सिजन ग्लोबल टि-२० लिग तथा पारस युएई टि-१० लिगमा छनौट भएका थिए।