नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको आज जन्मदिन
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आज आफ्नो ३०औं जन्मदिन मनाउदैछन। मल्लले ६ वर्षको अवधिमा कुल २७ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले नेपालको लागि २०१४ टि-२० विश्वकपबाट टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हंगकंग बिरुद्ध डेब्यु गरेका हुन। यस क्रममा दायाँ उनले २२.६४ को औशतमा ५६६ रन बनाएका छन्। उनले गत वर्ष डिसेम्बरमा भुटान बिरुद्ध दक्षिण एसियाली खेलकुद अन्तर्गतको खेलमा टि-२० अन्तर्राष्ट्रिय करियरकै पहिलो शतक बनाउने क्रममा १०७ रन बनाएका थिए।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले बनाएको यो नै सर्वाधिक व्यक्तिगत योगफल हो। पारस खड्काले सिंगापुर बिरुद्ध १०६ रन बनाएका थिए जुन रेकर्ड मल्लले ३ महिना पछि तोडेका थिए।
मल्लले गत वर्ष मलेसिया बिरुद्ध टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा २० बलमा अर्धशतक बनाउदै टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बनेका थिए। खेलमा उनले ५१ रन बनाउदा ५ चौका र ३ छक्का हिर्काएका थिए। उनले बिनोद भण्डारीले २५ बलमा मलेसिया बिरुद्धनै बनाएको छिटो अर्धशतकको रेकर्ड तोडेका थिए।

एकै टि-२० अन्तर्राष्ट्रिय सिरिज वा प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने रेकर्ड मल्लको नाममा रहेको छ। उनले गत वर्ष दक्षिण एसियाली खेलकुदमा १४८ रन बनाएका थिए। पारस खड्काले २०१५ मा नेदरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिजमा ४ खेलमा १३७ रन बनाएका थिए जुन रेकर्ड मल्लले तोडेका थिए। पारसले सिंगापुर बिरुद्ध गत वर्ष त्रिकोणात्मक सिरिजमा ३ खेलमा १३६ रन बनाएका थिए जुन तेश्रो धेरै हो।

भुटान बिरुद्ध गत वर्ष पहिलो शतक बनाउने क्रममा मल्लले ५५ बलमा ५ चौका र ९ छक्का हिर्काएका थिए। यस अघि पारस खड्काले सिंगापुर बिरुद्ध शतक बनाउने क्रममा पनि समान ९ छक्का प्रहार गरेका थिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा पारस र ज्ञानेन्द्र संयुक्त रुपमा एकै इनिंगमा धेरै अर्थात् ९ छक्का प्रहार गर्ने खेलाडी हुन्।

भुटान बिरुद्ध शतक बनाउने क्रममा ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि पारस खड्कासंग १०८ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी टि-२० अन्तर्राष्ट्रियमा पहिलो विकेटको लागि नेपालको सबैभन्दा ठूलो साझेदारी हो। पहिलो विकेट मात्रै हैन ज्ञानेन्द्रले तेश्रो विकेटको लागि २०१४ टि-२० विश्वकपमा हंगकंग बिरुद्ध पारस खड्कासंग गरेको ८० रनको साझेदारी तेश्रो विकेटको लागि सर्वाधिक हो।
टि-२० अन्तर्राष्ट्रियको एकै इनिंगमा नेपाली ब्याट्सम्यानहरुले बिरलै ५० बल भन्दा बढी खेलेका छन्। मल्लले भुटान बिरुद्ध गत वर्ष शतक बनाउने क्रममा ५५ बल खेलेका थिए जुन अहिलेसम्मकै सर्वाधिक हो।
नेपालको लागि ७ टि२० अन्तर्राष्ट्रियमा कप्तानी गरेका ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले ५ जित र २ हार बेहोरेको छ। यस अघि कप्तान पारस खड्काले २७ खेलमा कप्तानी गर्दा नेपालले ११ खेलमा जित र १५ खेलमा हार बेहोरेको थियो। पारसको जित प्रतिशत ४२.३० रहेको छ भने ज्ञानेन्द्रको ७१.४२ रहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई जन्मदिनको धेरै धेरै शुभकामना छ।
