नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु
नेपाल क्रिकेट संघ(क्यान)ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । कोभिड महामारीले करीब दश महिनादेखि अवरुद्ध बन्न पुगेको क्रिकेट पुनः लयमा फर्किन लागेको हो ।
बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएपछि तीनैजना आइसोलेशनमा छन् । उनको नजिक रहेका अरु सात खेलाडीलाई पनि आइसोलेसनमा राखिएको छ ।जसमा सन्दीप जोरा, अभिनाश बोहोरा, कमलसिंह ऐरी, किशोर महतो, कुशल भुर्तेल र रासिद खान रहेका छन् ।
पहिलो दिन पारस खड्का, विनोद भण्डारी, ललित राजवंशी, पवन सराफ, भुवन कार्की, आरिफ शेख, अनिलकुमार शाह, सुसन भारी र तीन जना अफिसियल प्रशिक्षणमा सहभागि भएका थिए ।आइसोलेसनमा रहेका खेलाडीको दोस्रो परिक्षण गरेपछिमात्र प्रशिक्षणमा फर्किने भएका छन ।
प्रशिक्षणमा थप पाँच खेलाडी समावेश गरिएका छन् । अनिलकुमार साह, विक्रम सोब, कुशल भुर्तेल, रित गौम र लोकेश बमलाई बोलाइएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा कोभिडविरुद्ध विशेष सतर्कता अपनाएर खेलाडीहरुले बन्द प्रशिक्षण सुरु गरेका छन् ।
प्रशिक्षकको पदपूर्तिमा ढिलाइ हुँदा जगतबहादुर टमाटाले नै बन्द प्रशिक्षणमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।