साविक बिजेता मुम्बई इन्डीएन्स पराजित, चेन्नाईको बिजयी सुरुवात
ईन्डियन प्रेमिएर लिगको तेह्रऔं संस्करण आईपीएल २०२०को पहिलो खेलमा साविक बिजेता मुम्बई इन्डीएन्स चेन्नाई सुपर किङ्ससँग पराजित भएको छ। महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सलाई ५ विकेटले पराजित गरेको छ।

खेलमा मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले ५ विकेट गुमाएर १९.२ ओभरमा पुरा गरेको हो।चेन्नाईको लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै फाफ डु प्लेसिसले अविजित ४४ बलमा ६ चौका प्रहार गर्दै ५८ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर मुरली विजय १ तथा शेन वाटसन ४ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि फाफ डु प्लेसिस र अम्बाती रायडुले शतकीय साझेदारी गरेका थिए। १६ औं ओभरमा रायडुलाई राहुल चाहरले आफै द्वारा क्याच आउट गर्नु अघि उनले ६/२ को अवस्थाबाट १२१/३ को अवस्थामा पुर्याएका थिए। रायडुको विकेट पछि डुप्लेसिसले एक किनार अन्तिमसम्म सम्हाली रहे।

जडेजाले ५ बलमा २ चौका मद्दतले १० रन तथा स्याम करनले ६ बलमा २ छक्का र १ चौका मद्दतले १८ रन बनाए पछि अन्तिममा चेन्नाईको जित सहज बन्यो। धोनी खाता नखोली अविजित रहे।
१८ बलमा जितको लागि २९ रन आवस्यक रहेको बेला स्याम करनले क्रुनाल पान्ड्यालाई १८ औं ओभरमा १ छक्का र १ चौका तथा तथा १९ औं ओभरमा जस्प्रित बुम्राहलाई १ छक्का प्रहार गरेपछि जित सहज बनेको थियो। मुम्बईले लगातार आईपीएलको आठौँ सिजनमा आफ्नो पहिलो खेलमा हार बेहोरेको छ।
