बैंगलोरको जितमा चमकिए बिराट कोहली
इन्डियन प्रिमियर लिग(आइपिएल) २०२० मा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले तेश्रो जित दर्ता गर्ने क्रममा स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सलाई ८ विकेटले सहजै पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिंग गर्दै राजस्थानले दिएको १५५ रनको लक्ष्य बैंगलोरले मात्र २ विकेट गुमाएर १९.१ ओभरमा पुरा गर्यो। बैंगलोरको जितमा कप्तान बिराट कोहलीले सर्वाधिक ७२ रन बनाए जुन क्रममा अविजित रहँदै ५३ बलमा ७ चौका र २ छक्का प्रहार गरे। जारि सिजन कोहलीको यो पहिलो अर्धशतक हो।

यस अघि ३ खेलमा फ्लप भएका कोहलीले क्रमसः १४, १ र ३ रन बनाएका थिए। यस्तै ओपनर देभदत्त पडीक्कले ६३ रन बनाए जुन क्रममा ४५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। पडीक्कलको यो सिजन तेश्रो अर्धशतक हो। यस अघि उनले हैदरावादबिरुद्ध ५६ तथा मुम्बई बिरुद्ध ५४ रन बनाएका थिए।

८ रन बनाएका ओपनर आरोन फिन्चलाई तेश्रो ओभरमा श्रेयस गोपालले एलबिडब्लु आउट गरे पछि पडीक्कल र कोहलीले दोश्रो विकेटको लागि ९९ रनको साझेदारी गरेका थिए। पडीक्कललाई १६ औं ओभरमा जोफ्रा आर्चरले बोल्ड गरे।

त्यसपछि ए बि डी भिल्लीयर्स र कोहलीले अविजित ३४ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। डी भिल्लीयर्सले १० बलमा १ चौका मद्दतले १२ रन बनाए। बैंगलोरको बलिंगमा लेग स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। ३ विकेट लिएसंगै विकेट संख्या ८ पुर्याएर चहल मोहम्मद शामीलाई पछि पार्दै उनले पर्पल क्याप नाम गरेका छन्। ८ विकेटनै लिएता पनि शामी भन्दा चहलको एभरेज राम्रो रहेको छ।
