नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रशिक्षण सुरु गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ। नेपाल क्रिकेट सङ्घ ( क्यान )ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषदले अनुमति दिएको जनाएको छ।

राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।क्यानले प्रशिक्षणको तयारी थालेको उहाँले उल्लेख गर्नुभयो । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षणविहीन अवस्थामा छन्। आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन्।

हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन्। प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताउनुभयो।

खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उहाँको भनाइ छ । यस अघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो । कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो।

प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ ।

नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो। कोभीड-१९ महामारीका कारण त्यसपछि नेपालले विश्वकप लिग-२ अन्तर्गत जुलाईमा स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक सिरिज तथा अप्रिलमा नामिबियामा तथा जुनमा पपुवा न्यु गिनीसंग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको थियो।

नेपालले जनवरीमा विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने भनिएको छ जसको टुंगो भने लागिसकेको छैन।

विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments