बैंगलोरको जीतमा डी भिल्लीयर्सको अर्धशतक
इन्डियन प्रिमियर लिगमा शनिवारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै छैठौं जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले ३ विकेट गुमाएर १९.४ ओभरमा पुरा गय्रो।

टस जितेर ब्याटिंग गरेको राजस्थानको लागि कप्तान स्टिभ स्मिथले करियरको ११ औं तथा सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५७ रन बनाए। उनले ३० बलमा अर्धशतक पुरा गरेका उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै ओपनर रोबिन उथप्पाले ४१ रन बनाए जुन क्रममा मात्र २२ बलमा ७ चौका र १ छक्का हिर्काए। जोस बटलरले २४, राहुल तेवतियाले अविजित १९ तथा बेन स्टोक्सले १५ रन बनाए।

राजस्थानले इनिंगको उत्कृस्ट सुरुवात गर्यो। सिजनमा पहिलो पटक आफ्नो पुरानै क्रम ओपनिंगमा आएका रोबिन उथप्पा र बेन स्टोक्सले पहिलो पटक सिजनमा टिमलाई अर्धशतकीय ओपनिंग साझेदारी गराए।
स्टोक्सलाई छैठौं ओभरमा क्रिस मोरिसले विकेटकिपर डी भिल्लीयर्सबाट क्याच आउट गराउदै ५० रनको साझेदारी तोडे। विस्फोटक ब्याटिंग गरेका उथप्पालाई आठौँ ओभरमा लेग स्पिनर युज्भेन्द्र चहलले फिन्चबाट क्याच आउट गराए।

अन्तिम ५ ओभरमा राजस्थानले ५८ रन बनाउन सक्यो। यस क्रममा चहलले गरेको १८ औं ओभरमा १७ रन खर्चिए। उक्त ओभरमा २ पटक चहलले ओभर स्टेप गर्दा नो बलमा दुवै पटक स्मिथले चौका हिर्काएका थिए। १९ औं ओभरमा उदानाले १६ रन खर्चिए। २० औं ओभरमा मोरिसले मात्र ४ रन खर्चेर २ विकेट लिंदा राजस्थान विशाल योगफल बनाउन चुक्यो।

बैंगलोरको लागि एबि डी भिल्लीयर्सले विस्फोटक ब्याटिंग गर्दै मात्र २२ बलमा ५५ रन बनाए जुन क्रममा १ चौका र ६ छक्का प्रहार गरे। डी भिल्लीयर्सले लिग इतिहासमा २५ या सो भन्दा कम बलमा अर्धशतक बनाएको यो १२ औं पटक हो। डेभिड वार्नरले पनि समान १२ पटक २५ वा कम बलमा अर्धशतक बनाएका छन्। लिगमा यस अघि डी भिल्लीयर्सले कोलकाता र मुम्बई बिरुद्ध अर्धशतक बनाएका थिए।

बिराट कोहलीले ४३ ( ३२ बलमा १ चौका र २ छक्का ) तथा देभदत्त पडीक्कलले ३५ रन ( ३७ बलमा २ चौका ) बनाए। यस्तै गुरकिरत मानसिंहले अविजित १९ रन बनाए। ओपनर आरोन फिन्च १४ रन बनाएर लेग स्पिनर श्रेयस गोपालबाट चौथो ओभरमा क्याच आउट भएपछि अर्का ओपनर पडीक्कलले कोहलीसंग दोश्रो विकेटको लागि ७९ रनको साझेदारी गरे।

१४ औं ओभरको पहिलो बलमा कार्तिक त्यागिले कोहलीलाई तेवतियामार्फत क्याच आउट गराए। तेवतियाले डिप मिड-विकेट बाउन्ड्रीमा उत्कृस्ट क्याच गरे। कोहली र पडीक्कलको लगातार विकेटपछि राजस्थान खेलमा फर्कियो। डी भिल्लीयर्स र गुरकिरतले चौथो विकेटको लागि साझेदारी गर्दै टिमलाई जिततर्फ अघि बढाए।

अन्तिम २ ओभरमा जितको लागि ३५ रन आवस्यक हुँदा डी भिल्लीयर्सले जयदेव उनदकतको ओभरमा २५ रन बनाए। उनले ओभरको पहिलो ३ बलमा ३ छक्का हिर्काए भने पाँचौ बलमा चौका प्रहार गरे।

अन्तिम ओभरमा जित्न १० रन आवस्यक रहंदा जोफ्रा आर्चरको चौथो बलमा डी भिल्लीयर्सले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। डी भिल्लीयर्स र सिंहले अविजित ७७ रनको साझेदारी गरे।
