च्याम्पियन्स लिगमा चेल्सी र म्यान्चेस्टर युनाईटेडको सहज जित
च्याम्पियन्स लिग फुटबलमा चेल्सीले रसियन क्लब क्रास्नोडारमाथि सहज जित निकालेको छ।बुधबार राति समूह ‘ई’ को खेलमा चेल्सीले रसियन क्लब एफके क्रास्नोडारमाथि ४–० को जित निकालेको हो ।

चेल्सीका लागि जियाचले पहिलो गोल गरे । उनले डेबिड वार्नरको पासलाई सदुपयोग गर्दै ७९औं मिनेटमा गोल गरेका थिए ।खेलमा अग्रता भने ३७औं मिनेटमा हुडसन ओडोईले दिलाएका थिए । काई हाभर्ट्जको पासमा ओडोईले लण्डन क्लबलाई अघि बढाएका थिए ।

७६औं मिनेटमा वार्नरले पेनाल्टीमा चेल्सीको अग्रता दोब्बर बनाए । जोर्गिन्हो पेनाल्टीमा चुक्दा सुरुवातमा अग्रता लिने अवसर गुमाएको चेल्सीका लागि दोस्रो पेनाल्टी वार्नरले गरेका थिए ।जियाकको गोलसंगै ३–० ले अघि बढेको चेल्सीका लागि खेलको अन्तिम मिनेटमा क्रिस्टियन पुलिसिकले चौथो गोल थपेका थिए ।

ट्यामी अब्राहमको पासलाई सदुपयोग गर्दै पुलिसिकले गोल गरेका थिए। च्याम्पियन्स लिगको सुरुवाती दुई खेलमा चार अंक जोड्दै चेल्सीले उत्कृष्ट सुरुवात गरेको छ । समूहमा चेल्सी ४ अंक सहित शीर्ष स्थानमा छ ।

त्यस्तै अर्को ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले पनि च्याम्पियन्स लिगमा सहज जीत हात परेको छ। म्यान्चेस्टर युनाईटेडले जर्मन क्लब आरबी लेपजिगलाई ५-० को गोल अन्तरले पराजित गरेको छ। म्यान्चेस्टरको जीतमा मर्कस राशफर्डले हाट्रिक गरे भने ग्रीनवूड र अन्थोनी मारसियलले एक एक गोल गरे।
