पहिलो एकदिवसीयमा अस्ट्रेलियाद्वारा भारत पराजित

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलि अस्ट्रेलिया ६६ रनले विजयी भएको छ।

सिड्नी क्रिकेट ग्राउण्डमा अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतले ५० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो।

भारतको लागि हार्दिक पान्ड्याले सर्वाधिक ९० ( ७६ बलमा ७ चौका र ४ छक्का ) , शिखर धवनले ७४ ( ८६ बलमा १० चौका ) बनाएता पनि जित दिलाउन सकेनन्। नभदिप सैनीले २९, रभिन्द्र जडेजाले २५, मायाँक अग्रवालले २२ तथा कप्तान बिराट कोहलीले २१ रन योगदान दिए।

पहिलो विकेटको लागि धवन र अग्रवालले ५३ रनको साझेदारी गरेपछि दायाँ हाते फास्ट बलर जोश हेजलवुडले अग्रवाल, कोहली र श्रेयस ऐयरको विकेट लिंदै अस्ट्रेलियालाई खेलमा हावी गरेका थिए। केएल राहुल १२ रन मात्र बनाएर एडम जाम्पाबाट आउट भए। पाँचौ विकेटको लागि धवनले पान्ड्यासंग १२८ रनको साझेदारी गरे।

धवन र पान्ड्या दुवैलाई जाम्पाले क्याच आउट गराए। अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर जाम्पाले सर्वाधिक ४ विकेट लिने जुन क्रममा १० ओभरमा ५४ रन खर्चिए। हेजलवुडले ३ ( १०-०-५५-३ ) तथा मिचेल स्टार्कले १ विकेट ( ९-०-६५-१ ) लिए।

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियाको लागि कप्तान आरोन फिंच र स्टिभ स्मिथले शतक बनाएका थिए। फिन्चले १२४ बलमा ९ चौका र २ छक्का मद्दतले ११४ रन तथा स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का मद्दतले १०५ रन बनाए। फिन्चको करियरको यो १७ औं तथा स्मिथको १० औं शतक हो।

ओपनर डेभिड वार्नरले ६९ ( ७६ बलमा ६ चौका ) तथा ग्लेन म्याक्सवेलले ४५ रन बनाए। म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्का हिर्काए।

पहिलो विकेटको लागि वार्नर र फिन्चले १५६ रनको विशाल साझेदारी गरेका थिए। वार्नर २८ औं ओभरमा मोहम्मद शामीबाट क्याच आउट भएपछि फिंच र स्मिथले दोश्रो विकेटको लागि १०८ रन जोडे। फिंचलाई ४० औं ओभरमा जस्प्रित बुम्राहले क्याच आउट गराए। स्मिथ इनिंगको अन्तिम ओभरमा शामीबाट बोल्ड भएका थिए।

भारतको बलिंगमा मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( १०-०-५९-३ ) लिए भने जस्प्रित बुम्राह ( १०-०-७३-१ ) , नभदिप सैनी ( १०-०-८३-१ ) , युजभेन्द्र चहल ( १०-०-८९-१ ) समान १ विकेट लिए।

प्लेयर अफ द म्याच स्टिभ स्मिथ घोषित भए। सिरिज अन्तर्गत दोश्रो एकदिवसीय नोभेम्बर २९ तारिख आइतबार खेलिनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments