अफगानिस्तान ओपनर नजिबको सडक दुर्घटनामा निधन
अफगानिस्तान क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान नजिब ताराकाईको मंगलबार निधन भएको छ। २९ वर्षीय नजिब लाई शुक्रबार कारले ठक्कर दिएको थियो जसपछि उनि गम्भीर घाइते भएका थिए।
अफगानिस्तानको पूर्वी नगरहरमा भएको दुर्घटना ताराकाई समान खरिद गर्न जाने क्रममा बाटो काट्दै गर्दा कारले ठक्कर दिंदा भएको थियो। तुरन्तै हस्पिटल लगेर उनको उपचार गरिएता पनि अवस्था गम्भीर रहेको थियो।
२९ वर्षीय तरकाईले अफगानिस्तानको लागि १ वानडे र १२ टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका थिए। उनले २०१७ मा आयरल्याण्ड बिरुद्ध एकमात्र वानडे खेलेका थिए। २०१४ मा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले अन्तिम पटक गत वर्ष सेप्टेम्बरमा बंगलादेश बिरुद्ध खेलेका थिए। १२ टि-२० मा उनले १ अर्धशतक मद्दतले २५८ रन बनाएका थिए। यस क्रममा उनले २०१७ मा आयरल्याण्ड बिरुद्ध व्यक्तिगत सर्वाधिक ९० रन बनाएका थिए।
जिम्बाबे ‘ए’ बिरुद्ध २०१४ मा प्रथम श्रेणी डेब्यु गरेका ताराकाईले प्रथम श्रेणी क्रिकेटमा २४ खेलमा ४७.२ को औशतले नियमित राम्रो प्रदर्शन गरेका थिए। त्यसपछि गत वर्ष अप्रिलमा उनले मिस आइनिक बिरुद्ध सर्वाधिक २ सय रन बनाएका थिए।
“आक्रामक ओपनिंग ब्याट्सम्यान तथा असल व्यक्तित्व भएका नजिब ताराकाईको दुर्घटनामा परि दुखद निधन भएको छ जसले हामि सबैलाई स्तब्ध बनाएको छ। अफगानिस्तान क्रिकेट बोर्ड तथा अफगानिस्तान क्रिकेट प्रेमीहरुको दिल टुटेको छ। अल्लाहले उस माथि करुणा बर्साउन।” अफगानिस्तान क्रिकेट बोर्डले ट्वीट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।