राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योहान कालिनले दिए राजीनामा
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएका छन् । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालीनको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामासँगै एन्फाले बाल गोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा दिएका योहान कालिनले कार्यकाल अगाडि बाहिरिनु परेकोमा दुःख व्यक्त गरेका छन् । एन्फाले राजीनामा स्वीकृत गरेपछि सामाजिक सञ्जाल फेसबुकमा कालिनले लेखेका छन्, ‘अनुमान गरेको भन्दा अगाडि छाड्दा निराशा देखिन्छ, तर, कहिलेकाँही सही निर्णय कठिन निर्णय भइदिन्छ ।’
कालिनले नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुको कारण कोरोना भाइरसको जोखिमलाई देखाएका छन् । स्वीडेनमा रहेका उनले भने, ‘कोभिड- १९ ले मलाई नेपालका लागि यात्रामा निस्कन निकै कठिन बनायो । त्यसैले मेले मेरो पदबाट राजीनामा दिएको हुँ ।’
उनले नेपाली टोलीको मुख्य प्रशिक्षक बन्ने अवसर पाएकोमा खुसी पनि व्यक्त गर्दै यतिन्जेलको साथ र सहयोगका लागि एन्फा, खेलाडी र सहकर्मीलाई धन्यबाद भनेका छन्।
कालिनको कार्यकालमा नेपालले फिफा विश्वकप छनोटका ५ खेल खेल्दा १ खेलमा जीत र ४ खेलमा हार व्येहोरेको थियो । यस्तै, केही मैत्रिपूर्ण फुटबलमा नेपालले राम्रो नतिजा दिएको थियो ।
प्रशिक्षक कालिनले भविष्यमा नेपाल भ्रमण गर्नेसमेत बताएका छन् । सन् २०१९ को मार्च १ बाट नेपाली टोली सम्हाल्न आएका उनको कार्यकाल २ वर्षको रहेको थियो । तर, उनले नोभेम्बर १ देखि कार्यान्वयन हुने गरी प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
